Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

‘कोभिड संक्रमणबाट मृत्यु हुनेमध्ये १५ प्रतिशतको कारण वायु प्रदूषण’

काठमाडौं, ५ मंसिर । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरूले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोरोना संक्रमण हुने र सोही कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य संगठन नेपाल, नगरपालिका संघ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा बिहीवार भएको कार्यक्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये करीब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइएको राससमा उल्लेख छ ।
मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताएका छन् । साथै उनले फोक्सो र मुटु रोग तथा मस्तिष्काघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तग्थ्यांक पेश गरे ।
विश्व स्वास्थ्य संगठन नेपालका जनस्वास्थ्य प्रशासक डा. खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को संक्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै संगठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरूलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुले काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाले एकीकृत र समन्वयात्मक रूपमा काम गर्नुपर्ने औंल्याउँदै स्थानीय सरकारले पूर्वाधार विकास निर्माणसँगै स्वच्छ वातावरण निर्माणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्दलगायत कार्य गर्नुपर्ने सुझाव दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x