Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

बन्दाबन्दी शुरू भएयता कात्तिकमा भित्रिए सर्वाधिक पर्यटक

बन्दाबन्दी शुरू भएयता कात्तिकमा भित्रिए सर्वाधिक पर्यटक

काठमाडौं, ७ मंसिर । मुलुकमा बन्दाबन्दी र प्रतिबन्धपछि करिब आठ महिनाको अवधिमा विदेशी पर्यटकको आवागमन शून्यप्रायः रहेकोमा कात्तिक महिनामा भने सर्वाधिक संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको विवरण अनुसार कात्तिक महिनामा मात्रै २ हजार ९०० विदेशी नागरिक नेपाल आएको राससमा उल्लेख छ । उनीहरूमध्ये एक हजार ३७० पुरुष र ६३९ महिला हुन् ।
सो अवधिमा अमेरिकाबाट ४५५, बेलायतबाट ३२६ पर्यटक नेपाल आएका छन् । चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएका छन् ।
यसअघि साउन महिनामा १३७, भदौमा ४११ र असोजमा एक हजार १९१ विदेशी पर्यटक नेपाल आएको विभागको तथ्यांकले देखाउँछ । हाल घुमफिर वा कुनै उद्देश्यका लागि नेपाल आउने विदेशी पर्यटकले सात दिन होटल क्वारिन्टन बस्नुपर्ने व्यवस्था छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू चाहेको गन्तव्य जान पाउँछन् ।
पछिल्लो महिना आएका पर्यटकमध्ये धेरै नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, विदेशी उच्चस्तरका पाहुना तथा संयुक्त राष्ट्रसंघमा आबद्ध कर्मचारी धेरै छन् । पर्यटक बढे पनि बोर्डबाट अक्टोबर महिनामा ८० हाराहारीमा मात्रै प्रवेशाज्ञाका लागि सिफारिश गरिएको बोर्डका निर्देशक मणि लामिछानेको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । विद्यमान संक्रमण कम गर्न बोर्डले संकटका समयमा गरिएको सम्पर्क वा सञ्चार ‘क्राइसिस कम्युनिकेशन टुल’ को तयारी गरिरहेको जानकारी उनले दिएका छन् ।
नेपालमा सन् २०१९ को तुलनामा सन् २०२० मा करिब २० प्रतिशत मात्र विदेशी पर्यटक आउने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत कम हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x