निजी क्षेत्रको विश्वास बढ्ने गरी काम गर्न विभागलाई राजस्व सचिव पुडासैनीको निर्देशन

काठमाडौं, ७ मंसिर । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आन्तरिक राजस्व विभागलाई निजी क्षेत्रको विश्वास बढ्ने गरी काम गर्न निर्देशन दिएका छन् । नवौं राष्ट्रिय कर दिवस सप्ताह समापन कार्यक्रममा बोल्दै आइतबार सचिव पुडासैनीले कानुनले दिएको जिम्मेवारी अनुसार पारदर्शी रुपमा काम गर्न निर्देशन दिएका हुन् ।
कर प्रशासन र निजी क्षेत्र एक सिक्काका दुई पांग्रा भएको भन्दै उनले दुबै पारदर्शी हुनु पर्नेमा जोड दिए । सरकारले समय सापेक्ष करका दरहरु परिमार्जन गर्दै जाने हुँदा निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने सचिव पुडासैनीले बताए । सरकारले कर निर्धारणको जिम्मा निजी क्षेत्रलाई नै दिएकोले सरकारी अधिकारीहरुले त्यसलाई सहजीकरण गरिदिनुपर्ने उनले बताए । कर प्रशासनमा निजी क्षेत्रको अतुलनीय सहयोग रहेको भन्दै कर अधिकारीहरुले उनीहरुसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउँन आवश्यक रहेको बताए ।
महालेखा नियन्त्रक मधुकुमार मरासिनीले कर प्रशासनलाई प्रविधिमैत्रीका साथै चुस्त दुरुस्त बनाउँन सबै लाग्नु पर्ने बताए । प्रविधिको विकाससँगै करदातालाई डिजिटलमाध्यमबाट नै कर तिर्नसक्ने व्यवस्था गर्न आजको आवश्यक रहेको औल्याए ।
त्यसैगरी अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुख सह–सचिव रामेश्वर दंगालले करदाताहरुलाई स्वत स्फ्रुत रुपमा कर तिर्ने व्यवस्था गरिने बताए । कानुनले दिएको अधिकार प्रयोग गरेर निजी क्षेत्रलाई कर तिर्न उत्प्रेरित गर्न विभागले भूमिका खेल्नु पर्ने दंगालको भनाई छ ।
कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी जनाएका निजी क्षेत्रका प्रतिनिधिहरुले कर प्रशासनलाई व्यवस्थित गर्न नीतिगत सुधारको आवश्यक रहेको बताए ।