नेपालको विद्युत् माग तथा परिमाणलाई भारतको स्वीकृति, सुक्खायाममा विद्युत् व्यवस्थापन सहज हुने

काठमाडौं, ८ मंसिर । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणलाई स्वीकृति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले शनिवार स्वीकृति दिएको बताइएको छ ।
सुक्खायाममा सहज रूपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन प्राधिकरणले अधिकतम २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।
विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको राससमा उल्लेख छ । उनका अनुसार कुल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको बताइएको छ ।
प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ । पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको छ ।
हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिक रूपमा समेत सबस्टेशनको मर्मत तथा सम्भारलाई समेत ध्यान दिएको छ । ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा समेत मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको छ । भरतबाट हेटौँडा हुँदै आउने र खिम्ती भएर आउने विद्युत् प्रवाहमा समेत एकरुपता कायम गरिएको छ । यसबाट स्वीचीङमा हुने समस्या समाधान हुने भएको छ ।