Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विकासको चरणमा रहेका कोभिड प्रतिरोधी कुन खोप कति प्रभावकारी ?

विकासको चरणमा रहेका कोभिड प्रतिरोधी कुन खोप कति प्रभावकारी ?

काठमाडौं, १२ मंसिर । यति बेला विश्व समुदाय नै कोरोना महामारीबाट सन्त्रस्त छ । संक्रमण नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि सबैजसो देशलाई यो महामारी नियन्त्रण ठूलो चुनौतीको रूपमा देखिएको छ । विज्ञहरूले खोप (भ्याक्सिन)को विकास नभएसम्म यसविरुद्ध लड्न मुश्किल रहेको बताइरहेका छन् । सोही अनुरूपमा विश्वका ठूला मुलुकहरू यसको विकासमा लागिपरेका छन् । कोरोना संक्रमण जटिल बन्दै जाँदा खोप विकासका लागि भएका अनुसन्धान र क्लिनिकल परीक्षणले यति बेला नतीजा देखाउन थालिसकेका छन् ।
रुसले कोरोना विरुद्धको खोप ‘स्पुतनिक भी’लाई यसअघि नै सर्वसाधारणमा प्रयोगको अनुमति समेत दिइसकेको छ भने अन्य देश तथा फर्मास्युटिकल्स कम्पनीले बनाएको खोपहरूको प्रभाविकारिताका रिपोर्टहरू आउन शुरू भएका छन् ।
बेलायती औषधि निर्माता अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोभिड–१९ विरोधी खोप औसतमा ७० प्रतिशत सफल भएको बताइएको छ । शुरूमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो । खोप निकै प्रभावकारी तथा सुरक्षित रहेको अस्ट्रजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले बताएका छन् । अस्त्रजेनेकाले सन् २०२१ भित्र खोपको करीब ३ अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।
अमेरिकी बायो प्रविधि कम्पनी मोडेर्ना इंकले बनाउँदै गरेको कोभिड–१९ विरुद्धको खोप ९४ दशमलव ५ प्रतिशत प्रभावकारी रहेको बताएको छ । यो अमेरिकी फर्मा कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकको कोभिड–१९ विरोधी खोपको भन्दा धेरै हो । ठूलो चरणको क्लिनिकल परीक्षणको अन्तरिम तथ्यांकले यस्तो देखाएको उल्लेख छ । आफ्नो सम्भावित खोपको हरेक डोजका लागि सरकारहरूबाट २५ देखि ३७ डलरसम्म शुल्क लिने समेत उसले बताएको छ । खोप अर्डरको रकम अनुसार शुल्क फरक–फरक पर्ने कम्पनीका प्रमुख कार्यकारी स्टेफन बान्सेलले एक अन्तरवार्तामा भनेका छन् ।
यस्तै भारतीय कम्पनी भारत बायोटेकले बनाएको कोरोना भाइरस विरोधी खोप कोभ्याक्सिन ६० प्रतिशत असरदार पाइएको छ । कम्पनीले गत आइतवार यस्तो दाबी गरेको हो । २ देखि ८ डिग्री सेल्सियस तापमानमा भण्डारण गरेर रख्नु पर्ने यस खोपको असर यो कोभिड–१९ विरुद्ध यो भन्दा पनि धेरै हुन सक्ने बताइएको छ । यो खोप भारत बायोटेकको तर्फबाट इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) र नेशनल इन्ष्टिच्यूट अफ भायरोलोजी (एनआईभी)ले बनाएको हो । खोप ५० प्रतिशतभन्दा बढी प्रभावकारी भएमा सोलाई मञ्जुरी दिइने विश्व स्वास्थय संगठन र अमेरिकी औषधि नियामकले बताएका छन् ।
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सन (जे एण्ड जे) को सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोना भाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करीब १२ महीना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करीब ६ हजार जना व्यक्तिलाई समावेश गर्ने बताएको छ । (एजेन्सीको सहयोगमा)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x