परिसंघद्वारा बढी कर बुझाउने व्यक्ति र संगठनका प्रतिनिधिलाई सम्मान
काठमाडौं, १२ मंसिर । सरकारलाई बढी कर बुझाउने करदाताहरुलाई नेपाल उद्योग परिसंघले सम्मान गरेको छ । सरकारले सम्मान गरेका १५ मध्ये ७ करदाता परिसंघमा सदस्यको रुपमा आबद्ध छन् । परिसंघमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मानपत्र प्रदान गरे ।
परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंकका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई पनि बधाई तथा सम्मानपत्र प्रदान गरेको छ । पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्सका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीजका निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसंघले बधाई ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेको छ ।
सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल र निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाललाई पनि सम्मानपत्र प्रदान गरिएको परिसंघले जनाएको छ ।
यसअघि नवौं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गर्ने घोषणा गरेको थियो ।