Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड महामारीबीच निर्वाचित महासंघको नयाँ नेतृत्व र जिम्मेवारी

कोभिड महामारीबीच निर्वाचित महासंघको नयाँ नेतृत्व र जिम्मेवारी

काठमाडौं, १४ मंसिर । कोभिड महामारीका कारण पटक पटक सर्दै आएको आएको निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्ततः शनिवार सम्पन्न भएको छ । चैत अन्तिम साता हुनुपर्ने महासंघको साधारणसभा एवं चुनाव लकडाउन, निषेधाज्ञा, आन्तरिक विवाद लगायत कारण अन्योलपूर्ण बनेको थियो ।

महासंघको चुनावमा किशोर प्रधान र चन्द्र ढकालको प्यानल चुनावी मैदानमा उत्रिएकोमा वरिष्ठ उपाध्यमा ढकाल विजयी भएका छन् । यस्तै प्रधान समूहबाट जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ र वस्तुगततर्फ अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् भने एशोसिएटतर्फ ढकाल समूहकै रामचन्द्र संघई विजयी भएका छन् । साथै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधानअनुसार नयाँ कार्यकालका लागि शेखर गोल्छा स्वतः अध्यक्ष बनेका छन् । यससँगै महासंघको नेतृत्वले पूर्णता पाएको छ ।

कोभिड महामारीका बीच यसपटक निर्वाचित नयाँ नेतृत्वबाट निजीक्षेत्रले बढी नै अपेक्षा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ निजीक्षेत्रकै छाता संगठन भएकाले नयाँ नेतृत्वले सर्वप्रथम महासंघको भूमिकालाई भोलिका दिनमा अझै बढाएर लैजान आवश्यक छ । त्यसका लागि निर्वाचित नेतृत्वले पक्कै पनि निश्चित योजना बनाएको हुनुपर्छ ।

आगामी १० वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण बनाउन नयाँ नेतृत्वले दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ । त्यसका लागि नीतिगत सुधार, जनशक्तिको शीप अभिवृद्धि लगायत विषयमा सरकारी निकायहरूसँग समन्वय हुनुपर्ने देखिएकोे छ ।
यसैगरी निजीक्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास गर्ने, रोजगारी सृजना गर्ने, उद्यमशीलताको प्रवद्र्धन गर्ने क्षमता नयाँ नेतृत्वबाट अपेक्षा गरिएको छ । वस्तुतः कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई लयमा फर्काउन महासंघको उल्लेख्य भूमिका हुनुपर्छ । यसका लागि नेतृत्वले सोही अनुसारको कार्ययोजना र रणनीति लिएर अघि बढ्नुपर्नेछ ।

निजीक्षेत्रलाई माथि उकास्न तीनओटै कार्यकारिणी समितिको भूमिका निकै महत्वपूर्ण हुनेछ । नयाँ कार्यकारिणी समितिमा अध्यक्ष गोल्छाले टिम बनाएर काम गर्ने हो, जसअनुसार निजी क्षेत्रका समस्यालाई सरकारसँग बलियो रूपमा लैजाने, लबिङ गर्ने, लगानीका लागि उचित वातावरण बनाउन सक्ने क्षमता नयाँ नेतृत्वले राख्नुपर्नेछ । साथै नेपालमा रोजगारदाता र श्रमिकबीचको देखिने गरेको चिसोपन हटाएर दुवैलाई सौहार्दपूर्ण वातावरणमा जिम्मेवारी पूरा गराउन महासंघ नयाँ नेतृत्वको प्रतिबद्धताको खाँचो पर्छ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा अहिले उद्योग क्षेत्रको योगदान घट्दै गएको छ । यस्तो अवस्थामा नयाँ नेतृत्वको ध्यान यसतर्फ जानु आवश्यक देखिन्छ । विश्वव्यापी रूपमा कोरोना महामारीले उद्योग व्यवसायलाई वर्षौं पछाडि धकेलेको जटिल परिस्थितिमा उद्योग–व्यवसाय अगाडि बढाउन, गुमेका रोजगारी फर्काउन निजीक्षेत्रको अहम् भूमिका हुन्छ । व्यक्तिगत रूपमा चलेको भन्ने आरोप लाग्ने गरेको महासंघलाई व्यावसायिक आकार दिनुपर्ने खाँचो पनि देखिन्छ । यस्तै मुलुक संघीय संरचनामा देश गइसकेको अवस्थामा महासंघलाई विकेन्द्रीकृत गर्दै सातै प्रदेशमा मजबुत बनाउन आवश्यक छ ।

महासंघ निजीक्षेत्रको छाता संगठन भएकाले आम उद्यमी–व्यवसायीका समस्या निडरतासाथ तर्कसंगत रूपमा राख्न र समाधानको बाटो खोज्न नयाँ नेतृत्वले निर्णायक भूमिका खेल्नुपर्छ । एउटा भिजन बनाएर महासंघलाई शुद्धीकरण गरी बलियो बनाउन र राष्ट्रियको अर्थतन्त्रमा योगदान पु¥याउन नयाँ नेतृत्वको सक्रिय हुनुपर्छ । महासंघको नयाँ नेतृत्वले यी र यस्ता कार्य गर्न सके अवश्य पनि समग्र निजीक्षेत्र र मुलुकको आर्थिक व्यावसायिक क्षेत्रमा सुधार आउन सक्नेछ । देशको आर्थिक समृद्धि र विकासका लागि सरकार र निजीक्षेत्र एकअर्काका परिपूरक भएकाले दुवै संयन्त्रबीच आपसी सहकार्य, समन्वय र अन्तरसंवाद सधैं अपेक्षित रहन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x