Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

देशभर पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

देशभर पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं, १६ मंसिर । नेपाल टेलिकमको फोरजी सेवा देशभर विस्तार भएको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा शुरू टेलिकमले देशका ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरूपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ । टेलिकमले सोमवार एक सूचना प्रकाशन गर्दै फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरीद गर्नुअघि एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट विक्रेताबाटै सुनिश्चित गराई खरीद गर्न अनुरोध गरेको छ ।
टेलिकमको फोरजी सेवा एक हजार ८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुन्छ ।
फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिने बताइएको छ ।
बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको टेलिकमले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x