तीन आवको प्रथम चौमासिक वैदेशिक व्यापार : आयात घट्दो, निर्यात सुधारिँदै

काठमाडौं, १८ मंसिर । पछिल्लो तीन आर्थिक वर्ष (आव)को प्रथम चौमासमा मुलुकमा आयात निरन्तर घट्दो छ भने निर्यात सुधारिँदै गएको पाइएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आव २०७५–७६, २०७६–७७ र २०७७–७८ को पहिलो चार महिनामा मुलुकबाट गरिने वैदेशिक व्यापारमा आयात घट्दै गएको र निर्यात बढेको देखिएको हो ।
चालू आवको पहिलो चौमासिक अवधिमा मुलुकमा ४ खर्ब २ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आव २०७६–७७ मा ४ खर्ब ५० अर्ब ३ करोड र अघिल्लो आव २०७५–७६ मा ४ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँको आयात भएको छ ।
यसैगरी तीन आवको प्रथम चौमासमा निर्यात भने बढेको छ । आव ४० अर्ब २० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएका छ । यस्तै गत आव २०७६–७७ मा ३६ अर्ब २८ करोड र आव २०७५–७६ मा २९ अर्ब २८ करोड रुपैयाँबराबरको सामग्री निर्यात भएको छ । तीन आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतलगायत तेस्रो मुलुकसँग गर्ने व्यापारमा निर्यात बढेको हो ।
केन्द्रका अनुसार पहिलो चौमासिकमा सबैभन्दा बढी निर्यात हुने सामग्रीमा भटमासको तेल अग्रस्थानमा छ । यसपछि गलैंचा, यार्न, चिया, तयारी पोशाक, जुटजन्य सामग्री, अलैंची लगायत वस्तु रहेको छ । उक्त अवधिमा नेपालबाट १० अर्ब २६ करोडको भटमासको तेल, २ अर्ब ६० करोडको गलैंचा, २ अर्ब ५४ करोडको यार्न, २ अर्ब ३३ करोडको चिया, २ अर्ब २१ करोडको तयारी पोशाक, २ अर्ब १६ करोडको जुटजन्य सामग्री, २ अर्ब तीन करोड रुपैयाँको अलैंची निर्यात भएको छ ।