निरन्तर बढिरहेको नेप्सेमा आइतबार किन लाग्यो नकारात्मक सर्किट ?
काठमाडौं, २१ मंसिर । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आइतवारका लागि कारोबार बन्द भएको हो । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ ।
कारोबार भने ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि बजार नराम्ररी प्रभावित हुन गएको अनुमान गरिएको छ। यसबाहेक निरन्तर बजारको सुधारबारे नकारात्मक हल्ला फैल्याइएकोले पनि आज बजार घटेको बताइन्छ ।
कारोबार भएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९.१३ प्रतिशतले घटेको छ ।
बजार घटेको दिन रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । गुमाउनेमा भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताहरु रहेका छन् ।
यस्तै सबैभन्दा धेरै कारोबार भने नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको बर्चश्व कायमै छ । पुनर्बीमाको १ अर्ब १६ करोड र नेपाल लाइफको ४४ करोड ९० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।