नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सहमति

काठमाडौं, २७ मंसिर । नेपालमा उत्पादित विद्युत् कूटनीतिक पहलमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रवार सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौं बैठकले सो निर्णय गरेको हो ।
सहमतिअनुसार नेपालमा उत्पादित विद्युत् भारत र बङ्गलादेशसम्म पुर्याउन अत्यावश्यक सबै पहल गरिने भएको छ । त्यसका लागि बङ्गलादेशसँग समन्वयय गरेर शीघ्र परराष्ट्र मन्त्रालयमार्फत संयुक्त बैठकको आयोजना गरिने भएको छ । गतवर्षको असोजमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने सहमति भएको थियो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट झण्डै १० हजार मेगावाट विद्युत् लैजाने इच्छा व्यक्त गरेको छ ।
यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट समेत ५०० मेगावाट विद्युत् लैजाने विषयमा सहमति भइसकेको छ ।
दुई देशका ऊर्जा सचिवको छैटौं पोखरा बैठकमा भएको सहमतिअनुसार नेपालको वर्षायामको विद्युत् भारत पठाएर इनर्जी बैंकिङ गर्ने विषयलाई समेत भारतले आफ्नो नीति तथा कार्यक्रममा राखेर आवश्यक निर्णय गर्न तयार भएको छ । सो प्रक्रिया अगाडि बढेको खण्डमा वर्षायाममा खेर जाने नेपालको विद्युत् भारतीय बजारमा पुग्न सक्नेछ ।