नेपालमा कोभिड निको हुने दर ९४ प्रतिशत, मृत्युदर ०.६७ प्रतिशत मात्र

काठमाडौं, २७ मंसिर । नेपालमा कोभिड–१९ निको हुने दर बढेको पाइएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना निको हुने दर ६९.३ प्रतिशत रहेकोमा नेपालमा ९४.२ प्रतिशत पुगेको छ । बिहीवारसम्मको तथ्यांकअनुसार नेपालमा २ लाख ४५ हजार ६५० सक्रमितमध्ये २ लाख ३१ हजार ६०१ जना निको भएको राससमा उल्लेख छ ।
विगत दुई महिनाको तथ्यांक हेर्दा कोभिड निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका संक्रमित घरमै बसेर निको हुने गरेको बताए । यद्यपि परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिएकाले निको हुनेको संख्या बढेको यस्तै सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपालको भनाइ छ ।
यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्यांकमा नेपालमा सङ्क्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको देखिएको छ । विश्वमा २.३ प्रतिशत सङ्क्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ ।