Shangrila

निगमका एयरबस जहाजलाई फ्रान्सले प्राविधिक सहयोग गर्ने

काठमाडौं, २ पुस । फ्रान्स सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एयरबस जहाजको उडानका लागि प्राविधिक सहयोग गर्ने भएको छ । नेपालका लागि फ्रान्सका राजदूत जेइरर लिगर र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलबीच भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत लिगरले निगमसँग रहेको एयरबसको सुव्यवस्थित उडानका लागि आवश्यक प्राविधिक सहयोग आदनप्रदान गर्ने सम्बन्धमा छलफल भएको निगमले विज्ञप्तिमार्फत बताएको छ ।
निगमको केन्द्रीय कार्यालयमा गत मङ्सिर २९ गते भएको उक्त भेटमा दुई देशबीचको नागरिक उड्डयन क्षेत्रमा परस्परको सहयोग र समन्वयमा जोड दिनुका साथै प्राविधिक सहयोगका विषयमा कुराकानी भएको थियो ।
निगमले हाल भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । युरोपका अन्य देशसहित फ्रान्सको टुलुसमा एयरबसको उत्पादन गर्ने कारखाना रहेको छ ।
निगमको अन्तरराष्ट्रिय गन्तव्यका आधार वाइडबडी जहाज फ्रान्सको एयरबस कम्पनीबाटै खरिद गरिएकाले उक्त जहाजको उडानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्राविधिक सहयोग उपलब्ध गराउने राजदूतको प्रतिबद्धता थियो ।
यसैबीच, नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को गत मङ्सिर १७ को निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले बताएको छ । निगमले हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *