त्रिभुवन विमानस्थलबाट हवाई यात्रुको आवागमन घट्यो
काठमाडौं, ५ पुस । कोरोना महामारीका कारण सबैजसो क्षेत्र प्रभावित भइरहँदा उड्डयन क्षेत्र पनि नराम्ररी थलिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समय गरिएको बन्दाबन्दी र निषेधाज्ञा लगायत गतिविधि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएका थिए । कोभिड रोकथामका प्रतिबन्धहरू हटिसकेपछि पनि हवाई क्षेत्रले लय लिन सकेको छैन । परिमाणस्वरूप गत वर्षको तुलनामा यस वर्ष हवाई यात्रु घटेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को तथ्यांकले सन् २०२० को ९ महिना अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको संख्या घटेको देखाएको हो । यस वर्षको सेप्टेम्बरसम्म उक्त विमानस्थल भएर आउने यात्रुको संख्या ९ लाख २७ हजार २०८ मात्र रहेको छ । गत वर्ष सन् २०१९ मा यो ४१ लाख ३८ हजार ४८२ रहेको थियो । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु संख्या ७ लाख ८७ हजार ४० रहेको छ ।
यस्तै सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११.६९ प्रतिशतले वृद्धि भई कुल ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको गरेको थियो । यस वर्ष उल्लेख्य संख्यामा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएकोमा कोभिड महामारीका कारण हवाई तथा पर्यटन क्षेत्रमा उल्लेख्य असर परेको क्यानले उल्लेख गरेको छ ।
हाल अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा कम्पनीले १५ मुलुकका ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा ९ फिक्स्ड विङ वायुसेवा र १० हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् ।