मिस्ट्रीखोला आयोजनाले एक महिनाभित्र विद्युत् उत्पादन थाल्ने
म्याग्दी, ६ पुस । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरू गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ ।
निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्कालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
उनका अनुसार बाँधको यसअघि नै परीक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ । त्यसपछि विद्युत्गृहको परीक्षण गरिनेछ ।
सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरिएको छ । नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भएको छ ।
रू पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रू. ७० करोड, जलविद्युत् विकास कम्पनीले रू. एक अर्ब, नेपाल बैंकले रु ५० करोड, नबिल बैंकले रू. एक अर्ब, लक्ष्मी बैंकले रू. ४० करोड, सिद्धार्थ बैंकले रू. ३० करोड र एस डेभलभमेन्ट बैंकले रू. ३० करोड ऋण लगानी गरेका छन् ।