तातोपानी सुक्खा बन्दरगाह : निर्यात शून्य हुँदा एक वर्षदेखि थन्किए दर्जनौं कन्टेनर
सिन्धुपाल्चोक, ७ पुस । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार पुनः सञ्चालनपछि पनि निर्यात ठप्प छ । निर्यात हुन नसकेपछि चीनबाट आएका ३१ कन्टेनर १ वर्षदेखि तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।
चाइनिज ट्रान्सपोर्ट कम्पनी मुसा लजिस्ट्रिकले गत वर्षको पुसमा उक्त कन्टेनरमा सामाग्री पठाएको थियो । सामाग्री आयात भए लगत्तै न्यालम काउन्ट्रिमा हिमपात शुरू भएको, त्यस लगत्तै कोरोना भाइरस संक्रमण शुरू भएको तथा नयाँ वर्षलगायतका कारण चीन पक्षले आयातमा अनिच्छा देखाएकोले बन्दरगाहको गोदाममा कन्टेनर अलपत्र परेको आयात कम्पनी सिल्क ट्रान्सपोर्टले बताएको छ ।
‘नेपालबाट सामग्री निर्यात भए कन्टेनर फिर्ता जाने थियो,’ सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर कल्याण सिलवाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ, ‘नेपाली सामाग्री निर्यात गर्न नसकेकै कारण ती कन्टेनर फर्कन सकेनन् ।’ सिलवालका अनुसार ती कन्टेनर फिर्ता गएको खण्डमा नेपाल आयात हुने सामग्रीमा वृद्धि हुनेछ । सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि चीनपक्षको सामाग्री आयात गर्ने कन्टेनरमा कमी हुने र आयातमा कमी स्वतः भएको उनको भनाइ छ ।
बाढी पहिरो र विनाशकारी भूकम्पका कारण लामो समय वन्द रहेको तातोपानी नाका सञ्चालनको दुई वर्ष नपुग्दै दर्जनौ पटक अवरोध सिर्जना भएको थियो ।
कोरोना भाइरस संक्रमण सन्त्रास र बाढी पहिरोले पटक पटक अवरोध पु¥याउँदै आएको नाकाबाट पछिल्लो पटक कात्तिकबाट नियमित आयात भएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । भूकम्प अघि तातोपानी नाका हुँदै नेपालबाट ऊन, हस्तकला कृषि सामग्री नियमित निर्यात हुने गरेको थियो । भूकम्पपछि तातोपानी नाकाबाट कुनै पनि सामग्री निर्यात भएको छैन ।