एक वर्षमा ४७ प्रतिशतले बढ्यो निगमको नाफा, २० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, १३ पुस । सरकारी स्वामित्वको संस्थान नेपाल आयल निगमको नाफा एक वर्ष अवधिमा ४७ प्रतिशतले बढेको छ । निगमले आइतवार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.०९ प्रतिशत बढी हो ।
एक वर्ष अवधिमा उक्त परिमाणमा नाफा बढ्नुको मुख्य कारण भने मोतिहारी–अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि ढुवानी रकम बचत र अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढ्नु हो ।
अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा निगमले ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसअघि आर्थिक वर्ष २०७३÷७४ मा भने निगमको नाफा रकम ९ अर्ब ४५ करोड रुपैयाँ थियो ।
प्रतिवेदनका अनुसार गत आवको १० महिना अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको छ । यस्तै गत वर्षको नाफा रकमको बैंक ब्याजबाट १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको समेत प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, निगमले आर्थिक वर्ष २०७६÷७७ मा नाफा रकमबाट शेयर सदस्यलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।