Date

शनि, चैत्र १, २०८१
Sat, March 15, 2025

अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान भन्दा कम, ब्याज छूटमा ९ अर्बभन्दा बढी योगदान : गभर्नर अधिकारी

अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान भन्दा कम, ब्याज छूटमा ९ अर्बभन्दा बढी योगदान : गभर्नर अधिकारी

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताएका हुन् ।
गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६÷५७ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने बताए ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको उनले जानकारी दिए । ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ,’ उनले भने, ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनर्कर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ ।’
चालू आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले भने, ‘अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे भन्ने कुरा हामी चैत पछि मुल्याङ्कन गछौं ।’
असोजमा मात्रै पुनर्कर्जाको आवेदन माग भएर कात्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकाले दोस्रो त्रैमासमै कुन बैंकले कति योगदान दिए भन्ने स्पष्ट नहुने गभर्नर अधिकारीको भनाइ थियो । चैतसम्ममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मूल्यांकन गर्ने उनले बताए ।
कोभिड पछिको आर्थिक पुनरुउत्थानका लागि गत वर्षको चौथो त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्बभन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएको जानकारी उनले दिए । स्वीकृत भएको ८१ अर्बको पुनर्कर्जामध्ये अधिकांश १५ लाखभन्दा साना कर्जामा गएको भन्दै उनले पुनर्कर्जाको उपयोग एसएमइ क्षेत्रमा बढी भएको दाबी गरे ।
‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गर्भर अधिकारीले भने । सार्वजनिक हित बाहेकको काम राष्ट्र बैंकले कुनै पनि हालतमा नगर्ने समेत उनले प्रष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x