काठमाडौंका ६० किमी सडकमा आधुनिक बत्ती जडानका लागि बोलपत्र आह्वान गरिँदै

काठमाडौं, २७ पुस । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रम अन्तर्गत करिब ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
यातायात व्यवस्थापन, शान्तिसुरक्षा, सामाजिक सुरक्षालगायत सेवासुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्यमुख्य सडकमा करीब १ हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको राससमा उल्लेख छ । करीब ८० स्थानमा उच्चमात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायत केही महत्वपूर्ण काम तीव्रगतिमा अघि बढाइएको छ ।
महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । औपचारिक रूपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत मंसिर २५ गते कामपा, प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भइएसँगै कापपाले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’ अन्तर्गत आधुनिक सडक बत्ती जडान अघि बढाइएको हो ।
शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ ।
पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हयात होटलसम्मको सडक खण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब एक हजार ७५० बत्ती जडान गर्ने तयारी भएको छ । यसका लागि पहिलो चरणमा करीब रू. ११ करोड लागत हुनेछ ।