लयमा फर्किंदै पोखराको पर्यटन
पोखरा, ३ माघ । कोभिड–१९ का कारण करिब ठप्पप्रायः बनेको पोखराको पर्यटन विस्तारै लयमा फर्किन थालेको छ । महामारी केही घटेको र छिट्टै महामारी सामान्य हुने आशामा पोखराका व्यवसायी छन् । पछिल्लो समय आन्तरिक पर्यटक बाक्लिएका छन् भने विदेशी पर्यटक पनि देखिन देखिन थालेका छन् । यहाँका पर्यटन व्यवसायी पूर्वाधार विस्तार तथा सेवा सुदृढीकरणमा समेत लागेका छन् ।
सन् २०२१ को शुरुआतले पनि आन्तरिक पर्यटनमा आशाको सञ्चार गरेको छ । कोभिड कहरकै बीच पर्यटन क्षेत्रमा ‘न्यू इयर इभ’मा देशका विभिन्न ठाउँमा आन्तरिक पर्यटकको उपस्थिति र रौनकले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
विदेशी पर्यटकको उत्सव मानिने ‘न्यू इयर इभ’ केही वर्षदेखि आन्तरिक पर्यटकका लागि समेत नयाँ उत्सव बनिरहेको छ । वायु सेवा कम्पनीले हवाई टिकटमा गरेको प्याकेजसहितको छुट अफर, होटेल तथा रेस्टुराँ व्यवसायीले ग्राहक तान्न गरेका अफर तथा छुटले पनि आन्तरिक पर्यटन विस्तारै चलायमान बन्दै जान थालेको पोखराका पर्यटन व्यवसायीले बताएको राससमा उल्लेख छ ।
यस्तै पोखरामा सडक महोत्सवमा पर्यटक आगमन हेर्दा यसले व्यवसायीमा आशाको सञ्चार गरेको रेबान पोखराका प्रथम उपाध्यक्ष नरेश भट्टराईको भनाइ छ । रेबानले पोखरालाई ‘नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित गत पुस १५ देखि १७ सम्म ‘२२औं पोखरा सडक महोत्सव २०२० र ०२१’ आयोजना गरेको उनले बताए ।
कोभिड महामारीका कारण अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटक आगमन करीब ८० प्रतिशतले घटेको छ । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।