सिडिएससीले केवाईसी फारमलाई विद्युतीयकरण गर्ने, लगानीकर्ताको एउटै केवाईसीले सबै ठाउँमा काम हुने

काठमाडौं, ८ माघ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले ग्राहक पहिचान फारमलाई केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरणमा रुपान्तरण गर्ने भएको छ । सिडिएससीले केही दिनपछि नै उक्त सफ्वयर खरिद गर्नेका लागि लागत अनुमानको सूचना प्रकाशन गर्ने बताएको छ । उक्त सफ्वयर प्रयोग गर्नका लागि सडिएससीले धितोपत्र बोर्डमा निर्देशिका पठाएकोमा उक्त निर्देशिका स्वीकृत भएर आएको छ । निर्देशिका कार्यान्वयन गर्नका लागि सिडिएससीले सफ्टवयर विकास गर्न लागत अनुमान माग गर्नको लागि यही हप्ता सूचना जारी गर्ने बताएको छ ।
प्रकाशित सूचनाअनुसार लागत अनुमानको आधारमा सफ्वयर खरिदको प्रक्रियामा जाने सिडिएसीका प्रमुख कार्यकारी अधिकृत पूर्णचन्द्र आचार्यले बताए । उक्त सफ्टवयर विकास भएसँगै लगानीकर्ताले एक पटक केवाईसी भरेपछि सम्बद्ध निकायहरु नेप्से, ब्रोकर्स, डिपीलगायतमा पुनः केवाईसी भर्नुपर्ने बाध्यता हटेर जाने आचार्यको भनाई छ । उनका अनुसार सम्बद्ध निकायहरुसँग सम्झौता हुनेछ । ‘हामीले विकास गरेको सफ्टवयरमा लगानीर्ताले केवाईसी अपडेट गरेपछि पुनः हामीसँग सम्बद्ध निकायमा पुनः केवाईसी नभर्दा हुन्छ ।’ आचार्यले भने, ‘हामीले विकास गरेको फारम भरेपछि सरोबरमा सुरक्षित रहनेछ ।’
सिडिएससीले विकास गरेको केवाईसी पुनः अर्काे निकायमा प्रयोग गर्न लगानीर्तालाई आईडी उपलब्ध हुनेछ । उक्त आईडी प्रयोग गरेर सम्बद्ध निकायमा त्यही केवाईसीले काम गर्नेछ । यो प्रविधिको विकासले लगानीकर्ताहरुलाई शेयर सम्बन्धी काम गर्ने सम्बद्ध निकायमा केवाईसी भर्नका लागि झञ्जट नहुने आचार्य बताउँछन् ।
पछिल्लो समय सिडिएससीले प्रविधिको विकासलाई अधिक प्राथमिकता दिन थालेको छ । सिडिएससीले विकास गरेको मेरो शेयर अनलाइन सिस्टम र मोबाइल एपले गर्दा शेयर बजारमा सर्वसाधारणको पहुँच वृद्धि हुँदै गएको छ ।
प्रविधिमा भएको विकाससँगै शेयर बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रमपनि बढ्दै गएको छ । बुधबार (७ गते) सम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १२ हजार पुगेको सिडिएससीले जनाएको छ ।