विराटनगर आईसीपीद्वारा १८ अर्ब राजस्व संकलन
विराटनगर, ९ माघ । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरले चालु आर्थिक वर्षको ५ महिनामा १८ अर्ब तीन करोड २६ लाख राजस्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजस्व असुलीको लक्ष्य पाएको थियो ।
कार्यालयले लक्ष्यभन्दा ५ अर्ब तीन करोड ५७ लाख कम राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्ष्यको ७८ दशमलव १७ प्रतिशत हो ।
कार्यालयले गत आवको सोही अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा १५ अर्ब ८५ करोड ६१ लाख असुली गरेको कार्यालयका प्रवक्ता सन्तोष यादवलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजस्व पनि प्रभावित भएकाले लक्ष्य हासिल हुन नसकेको भन्सारले बताएको छ ।
कार्यालयले चालु आवको साउनमा दुई अर्ब २४ करोड ५६ लाख, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख, असोजमा तीन अर्ब ३४ करोड चार लाख, कात्तिकमा तीन अर्ब चार करोड, मङ्सिरमा तीन अर्ब १३ करोड ४० लाख र पुसमा तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजस्व संकलन गरेको तथ्यांक छ ।