दोर्दीखोला आयोजना अन्तिम चरणमा, चैतसम्ममा उत्पादन थाल्ने
लमजुङ, ११ माघ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना हालसम्म ९६ प्रतिशत सम्पन्न भएको बताइएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैतसम्ममा विद्युत् उत्पादन हुने आयोजनाले बताएको राससमा उल्लेख छ ।
आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । तीन हजार २०० मिटर पाइप बिच्छाउनमध्ये तीन हजार १०० मिटर बिच्छाउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको छ ।
आयोजनाले २०७२ फागुनदेखि निर्माण शुरू गरेको थियो भने २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, अघिल्लो बर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले बताएको छ । शुरूमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।