सुनकोशी–तेस्रो आयोजनाको प्राविधिक अध्ययन अन्तिम चरणमा
काभ्रे, २२ माघ । सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनाको प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्भे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जानकारी दिएको छ ।
५३६ मेगावाट उक्त आयोजनाको प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम बाँकी रहेको छ । इआइए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको विभागका इञ्जिनीयर सुवास थपलियालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ ।
परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिने योजना छ ।