शेयर बजारमा कारोबार रकमले राख्यो नयाँ रेकर्ड, सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको

काठमाडौं, २५ माघ । पछिल्लो समय नयाँ नयाँ कीर्तिमान राख्दै आएको शेयर बजारले आइतबार (आज) पनि नयाँ कीर्तिमान कायम गरेको छ । आज हालसम्मकै सर्वाधिक मूल्यको शेयर कारोबार भएर नयाँ कीर्तिमान कायम रहन सफल भएको हो । आज हालसम्मकै उच्च कारोबार १० अर्ब ४४ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यो अनलाइन शेयर कारोबारले गर्दा सम्भव भएको जानकार बताउँछन् ।

आज नेप्से परिसूचक पनि ४८.७४ अंकले वृद्धि भएर २५२४ विन्दुमा रोकिएको छ । २०२ कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबार शुरु भएदेखिनै परिसूचक उकालो लागेको थियो । आज ६ वटा लघुवित्त, नागरिक लगानी कोष र मन्जुश्री फाइनान्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यी लघुवित्तमा आरएसडीसी, गनपति, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल र डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ५३ करोड १७ लाखभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य २.५५ प्रतिशतले घटेर सर्वाधिक शेयर खरिद विक्री भएको हो । आज नेपाल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य ६.२७ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसुचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ७.७६ प्रतिशतले वृद्धि भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *