सुदूरपश्चिम प्रदेशका ३ लाख २१ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध, छुटेकालाई पनि बीमा गराउन सामाजिक विकास मन्त्रीको आग्रह
विवेक नगरी धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य बीमा कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार यो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३ लाख २१ हजार ६ सय ३० जना आवद्ध भएको छन् । यो प्रदेशबाट हालसम्म सबै भन्दा बढि कैलालीबाट नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका छन् भने सबैभन्दा कम सहभागिता डोटीको रहेको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार बीमामा आवद्ध ५ जना सम्म सदस्य भएका घर परिवारले बार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउन छन् भने ५ जना भन्दा बढी सदस्यको हकमा प्रति सदस्य अतिरिक्त ७ सय रुपैयाँ शूल्क तिर्नुपर्ने छ । गरिब र विपन्न परिवारका लागि भने छुटै प्याकेज छ ।
सुदूपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशबाट बीमामा आवद्ध हुन बाँकी रहेका नागरिकहरुलाई पनि बीमामा आवद्ध भएर स्वास्थ्य उपचारमा आइपर्ने आर्थिक जोखिमलाई कम गर्न आग्रह गरे ।
यस्तै स्वास्थ्य बीमा गराएका सूदुरपश्चिम प्रदेशका नागरिकहरुले बीमा अझै प्रभाकारी बनाउनु पर्ने सुझाव दिएका छन् । यो बीमाले नागरिकहरुलाई निकै सहज भएपनि आवश्यकता अनुसार औषधी नपाउने गरेको गुनासो उनीहरुको छ । सेवा प्रदायक संस्थाहरुसँग स्वास्थ्य बीमा बोर्डले ११ सय ३३ प्रकारका औषधीहरु बीमितलाई निःशुल्क रुपमा प्रदान हुनेगरि सम्झौता गरेको छ । तर अन्य औषधीहरु भने बाहिरबाट किन्नु पर्ने हुन्छ ।
सेती प्रादेशिक अस्पतालबाट हाल सम्म १५ हजार ७ सय ८३ बीमितले यो सेवा लिएको बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक जनक बहादुर साउदले जानकारी दिए ।
हालसम्म यो कार्यक्रम मुलुकका ६५ जिल्लामा संचालित छ । ति जिल्लाका ३५ लाख नागरिकले बीमा गराएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र जनशक्तिको अभावका कारण पहुँच विस्तार तीब्र रुपमा हुन नसेको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए ।
यो कार्यक्रम ५ वर्षअघि कैलालीबाट सुरु भएको हो । आगामी २ वर्षभित्र बीमामा सबै नागरिकलाई आवद्ध गर्ने सरकारको लक्ष्य छ ।