‘पिक आवर’मा भारतबाट विद्युत् आयात उच्च
काठमाडौं, २६ माघ । मुलुकमा विद्युत्को आन्तरिक उत्पादन खुम्चिएपछि आएपछि भारतबाट विद्युत्को आयात बढेको छ । नेपालबाट अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले वर्षायामको तुलनामा हिउँदमा उत्पादन ह्वात्तै घट्ने गर्छ । सोही कारण माग आपूर्ति सन्तुलनमा राख्न हिउँदमा विशेषगरी ‘पिक आवरमा’ भारतबाट आयात हुने विद्युत् परिमाण पनि बढ्ने गरेको छ ।
पछिल्लो समय विद्युत्को माग बढ्दै गएको, तर आन्तरिक उत्पादन घटेकाले पनि आयात बढेको हो । अहिले भारतबाट पिक आवरमा ६८० मेगावाटसम्म विद्युत् आयात हुँदै आएको छ । यो हालसम्मकै उच्च भएको बताइएको छ । पुसमा भने पिक आवरमा ६३८ मेगावाटसम्म मात्र विद्युत् आयात हुने गरेको थियो ।
हाल निजीक्षेत्रका जलविद्युत् आयोजनाबाट २७० मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको छ भने प्राधिकरणको जलाशययुक्त आयोजनासहित विभिन्न प्रकृतिका सबै आयोजनाबाट ४९० मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ । तर यही समयको पिक आवरमा १ हजार ४५० मेगावाटसम्म विद्युत्को माग हुने गरेको छ । विद्युत् माग बढेपछि आपूर्ति व्यवस्थापनका लागि कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना समेत चौबीसै घण्टा चलाइएको प्राधिकरणले बताएको छ ।