सम्झौताको दुई महिनापछि बंगलादेशबाट रासायनिक मल खरीद शुरू
काठमाडौं, २७ माघ । बंगलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद शुरू भएको छ । सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरू भएको कृषि सामग्री कम्पनीले बताएको छ ।
यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बंगलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । ढुवानीका लागि छनोट गरिएको कम्पनीले मंगलवारदेखि मल बुज्न थालेको जानकारी र सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुने उनको भनाइ छ ।
ढुवानी कम्पनीले पहिलो लटमा २० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको जनाउँदै भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको छ । पहिलो लटमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले बताएको छ ।
कृषि सागम्री कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।
नेपालले बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता गरेको थियो । बंगलादेशबाट रासायनिक मल खरीदको तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । कम्पनीले पहिलो लटको मल बिहीवारसम्म नेपालमा ढुवानी हुने अनुमान गरेको छ ।