कोभिडका सक्रिय संक्रमित घटे, निको हुने दर ९८.६२ प्रतिशत

काठमाडौं, १ फागुन । नेपालमा तुलनात्मक रूपमा कोभिड महामारी घट्दै गएपछि सक्रिय सक्रमित पनि घटेका छन् भने निको हुने बढेको छ । महामारी शुरू भएयता निको भएर घर फर्किने संक्रमित संख्या शुक्रवारसम्ममा २ लाख ६८ हजार ७९६ रहेको छ, जुन कुल संक्रमितको ९८.६२ प्रतिशत हो । संक्रमितमध्ये हालसम्म २ हजार ५४ जनाको मृत्यु भएको छ ।

शुक्रवारसम्ममा कुल संक्रमित संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । यसमध्ये सक्रिय संक्रमित १ हजार ७०७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांक अनुसार पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौंमात्र रहेको छ । यस्तै इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम पश्चिम र अछाममा शून्य संक्रमित रहेका छन् ।

यस्तै संक्रमितमध्ये सघन उपचार कक्ष (आईसीयू)मा ६२ जनाले उपचार गराइरहेका छन् । बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा चार, लुम्बिनी प्रदेशमा २० र कर्णाली प्रदेशमा दुुई जना छन् । यस्तै देशभरि भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन् । तीमध्ये बागमती प्रदेशमा ११ र लुम्बिनी प्रदेशमा तीन जना रहेका छन् ।
शुक्रवार कोरोना भाइरसको संक्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *