Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सामाजिक सुरक्षा कोषको संशोधित कार्यविधि कार्यान्वयनमा

सामाजिक सुरक्षा कोषको संशोधित कार्यविधि कार्यान्वयनमा

काठमाडौं, ३ फागुन । सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गरिएको छ। मन्त्रिपरिषद्को माघ २९ गतेको बैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ लाई दोस्रोपटक संशोधन गरी कार्यान्वयनमा ल्याएको हो ।

हाल कोषले सञ्चालन गर्दै आएको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी ४ किसिमका सुविधा छन् । तर, यी योजनामा स्पष्ट मापदण्ड थिएन । कार्यविधि संशोधन गर्दै कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर ३ महिना हुनुपर्ने व्यवस्था गरेको छ । अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेको वा कम उपयोग गरेकाहरूले उक्त सिमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप हुन सक्ने व्यवस्था गरिएको छ। यस्तै, मातृत्व सुरक्षाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात् ६ हप्तासम्मको उपचार खर्चसमेत पाउने गरी व्यवस्था मिलाईएको कोषले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै निवृत्तिभरण प्राप्त गरेका योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृत्तिभरणवाट निश्चित रकम कट्टा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीका क्रममा दुर्घटना भएको व्यक्तिको उपचारलाई पारदर्शी बनाउने व्यवस्था गरिएको छ । आश्रित परिवार सुविधा योजनाअन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चाहेमा ७ लाख रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागीरबाट अलग हुँदा निकाल्न पाउने तथा जागीरमा हुँदै ८० प्रतिशतसम्म विशेष सापटीका रूपमा प्रदान गर्न सकिने व्यवस्था मिलाएको छ। अवकाश सुविधा योजनाअन्तर्गत नियमित रूपमा ८.३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वैच्छिक रूपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम, योगदानकर्ताहरूले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताहरूको निवृत्तिभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x