माघमा ९ अर्ब १२ करोडको वस्तु तथा सेवा निर्यात, मासिक निर्यातमा उतारचढाव

काठमाडौं, ५ फागुन । मुलुकबाट वस्तु तथा सेवाको मासिक निर्यातमा उतारचढाव देखिएको छ । भन्सार विभागका अनुसार माघ महिनामा ९ अर्ब १२ रुपैयाँ बराबरको निर्यात भएको छ, जुन अघिल्लो महिना अर्थात् पुसमा भएको निर्यातको तुलनामा १ अर्ब ६२ करोड रुपैयाँले कम हो ।
चालू आर्थिक वर्षको पछिल्लो ४ महिनाको तथ्यांक हेर्दा कात्तिकदेखि बढ्दै गएको निर्यात माघमा आएर पुनः खस्किएको देखिन्छ । विभागका अनुसार कात्तिकमा मुलुकबाट ९ अर्ब १५ करोड बराबरको निर्यात भएको थियो । मंसिरमा निर्यात ७० करोडले बढेर ९ अर्ब ८५ करोड पुग्यो । यस्तै पुसमा ८९ करोडले वृद्धि भएर १० अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
यसरी लगातार तीन महिना बढ्दै गएको निर्यात माघ महिनामा भने ऋणात्मक बनेको विभागको तथ्यांकले देखाएको छ ।
चालू आवको माघ मसान्तसम्ममा भएको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बढी हो । आवको ७ महिनामा मुलुकबाट ६९ अर्ब ९१ करोड बराबरको निर्यात भएको छ । गत आवको सोही अवधिमा भने ६४ अर्ब ९६ करोड वस्तु तथा सेवा निर्यात भएको थियो ।