सेञ्चुरी बैंकले राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं, १२ फागुन । सेञ्चुरी कमर्सियल बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघमा आवद्ध विभिन्न संघका उद्यमी व्यवसायीलाई सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघ तथा महासंघअन्तर्गतका भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघ र नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघबीच छुट्टाछुटै रूपमा भएको हो ।
सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिम्सिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरेका छन् ।
सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पुर्याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायलाई निरन्तरता दिन, व्यवसाय वृद्धि गर्न तथा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले १२० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।