कर्मचारी सञ्चय कोषमा अब अनलाईनबाटै रकम जम्मा गर्न सकिने
काठमाडौं, १२ फागुन । कर्मचारी सञ्चय कोषमा अनलाईनबाटै रकम जम्मा गर्न सकिने भएको छ। कोषले संघीय र प्रदेश सरकार मातहतका कर्मचारीहरुलाई विद्युतीय सरकारी लेखाप्रणाली (सीजीएएस) मार्फत रकम जम्मा गर्ने व्यवस्था गरेको हो ।
यो सेवाको सुरुवात आज महालेखा नियन्त्रक मधुकुमार मरासिनी र कर्मचारी सञ्चय कोषका आध्यक्ष तथा राजस्व सचिव रामशरण पुडासैनीले संयुक्त रुपमा गरे । अनलाइन भुक्तानीको सुरुवात भएसँगै २ लाख ७२ हजार कर्मचारीलाई सहजता भएको महालेखा नियन्त्रक मधुसुदन मरासिनीले बताए । उनले संघीय र प्रदेश गरी ५ हजारभन्दा बढी कार्यालयका कर्मचारीको विवरण सहज रुपमा समयमा नै महालेखामा उपलब्ध हुने विश्वास पनि व्यक्त गरे । एक वर्ष भित्र यो सेवा पालिकास्तरका कर्मचारीहरुमा पनि लैवाने मरासिनीले जानकारी दिए ।
कोषका अध्यक्ष पुँडासैनीले बैंकबाट कोषमा रकम जम्मा गर्दा अत्याधिक समय लाग्नुका साथै रेकर्ड राख्न पनि समस्या पर्दै आएकोले यो सेवाले पारदर्शिता ल्याउँने बताए । त्यस्तै कोषका प्रमुख प्रशासक तुलसी गौतमले पछिल्लो समय प्रविधिको विकाससँगै कोष पनि अपडेट हुँदै गएको बताए । यो सेवा विस्तारले सञ्चयकर्तालाई सहज भएको उनको भनाई छ । अब यसलाई व्यवस्थित गर्दै लानु पर्ने चुनौती बढेको उनले बताए ।
हाल यो सेवा लिनको लागि २ लाख ६८ हजार कर्मचारी सिस्टममा आवद्ध भएका छन् भने ४ हजार कर्मचारी बाँकी सिस्टममा लिष्टिङ हुन बाँकी छन् ।