साढे १८ अर्बभन्दा बढीले घट्यो साताको शेयर कारोबार
काठमाडौं, २९ फागुन । कारोबार दिन र परिसूचक दुवैमा आएको कमीले यस साता समग्र कारोबार रकम गत साताको तुलनामा साढे १८ अर्बभन्दा बढीले घटेको छ । सार्वजनिक बिदा परेकाले यस हप्ता तीन दिन मात्र कारोबार भएको थियो । तीन दिनमा १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत हप्ताको तुलनामा १८ अर्ब ६३ करोड कम हो ।
यस साता कुल १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको ३ करोड २० लाख ७८ हजार १२२ कित्ता शेयर किनबेच भएको छ । गत हप्ता ५ दिन कारोबार हुँदा ३२ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँको ६ करोड ८९ लाख ६६ हजार ४४६ कित्ता शेयर कारोबार भएको थियो ।
गत साताको तुलनामा यस साता कुल बजार पूँजीकरण समेत घटेको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा यस साताको अन्तिम कारोबार दिन फागुन २६ गते ६६ अर्ब ४० करोडले घटेर ३३ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
यस साता कारोबारमा आएका तीन दिन नै शेयर बजार घटेको छ । तीन दिनमा नेप्से परिसूचकमा ४८ दशमलव २ अंकको कमी आएको हो । गत साताको अन्तिम कारोबार दिन ९० दशमलव ६७ अंकले बढेर २ हजार ५०६ दशमलव ६८ विन्दुमा रोकिएको नेप्से परिसूचक यस साताको अन्तिम दिन बुधवार २ हजार ४५८ दशमलव ४८ विन्दुमा थामिएको थियो ।
सातामा ठूला कम्पीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स समेत घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहिवार ४५१ दशमलव ४६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यस साताको अन्तिम कारोबार दिन बुधवार ४४५ दशमलव २३ विन्दुमा आइपुगेको थियो, जुन गत साताको तुलनामा ६ दशमलव २३ अंक कम हो ।