Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अठार कित्ता जग्गा नदीको बगरमा परिणत भइसकेको मुक्त कमैयाको भनाइ

कञ्चनपुर,
कञ्चनपुर(पाँच वर्षअघि सनवोरा नदीमा आएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका अठार मुक्तकमैया परिवार पुनःस्थापनाको पर्खाइमा रहेका छन् ।

भूमिसुधार कार्यालयले विसं २०५७ सालमा पुनःस्थापना गरेको घरजग्गा सबै नदीको बाढीले बगाएपछि मुक्त कमैया परिवारको जीवन कष्टकर बनेको छ। नदीका कारण विस्थापनमा परेका परिवार मजदुरी गरेर आफन्तकोमा र कोठा भाडामा लिएर जीविका धान्दै आएका छन्।

मालिकको घरबाट मुक्त भएपछि पुनःस्थापनाका बेला पाएको घर जग्गा सबै नदीले बगाएर बगरमा परिणत गरेपछि महेन्द्रनगर बजारमा निर्माण मजदुरका रुपमा कार्य गर्दै आएको एक मुक्त कमैया दुःखी चौधरीले बताए।

मजदुरी गरेको पैसाले साँझ बिहानको छाक टार्न धौ धौ छ, उनले भने, ‘बालबालिकालाई जाडोका बेला एकसरो लुगासमेत हाल्न सकेका छैनौँ।’

घरजग्गा भए कोठा भाडा तिर्नु पर्दैनथ्यो, उनीसँगै काम गर्दै आएका बोटराम चौधरीले भने, ‘कोठा भाडा तिर्ने पैसाले परिवारका लागि कपडाको जोहो गर्न सकिन्थ्यो।’

घरजग्गा केही नहुँदा विस्थापनको अवस्थामा बस्दै आएको उनले बताए। मालिकको घरमा बस्दा दुई छाक खाना र एकसरो लुगा त आरामले पाइने गरेको थियो, विगत सम्झँदै लालमनी चौधरीले भने, ‘मुक्त भएपछि घर जग्गा, रोजगारी सबै पाइने आशामा थियौँ। जग्गा र घर त पायौँ, तर नदी किनारामा। पुनःस्थापना भएको केही बर्षमै पुनः मुक्त हुँदाको अवस्थामै फर्केका छौँ।’

भूमिसुधार कार्यालयले अन्य ठाउँका बाढी प्रभावित परिवारलाई जग्गा उपलब्ध गराई पुनःस्थापना गराएको भए पनि यहाँका मुक्त कमैया परिवार पुनःस्थापनामा पर्न नसकेको मनोज चौधरीले बताए।

नदीमा तटबन्ध निर्माण नहुँदा अझै दुई दर्जनभन्दा बढी मुक्त कमैया परिवार विस्थापनको सङ्घारमा रहेका छन्।

अठार कित्ता जग्गा नदीको बगरमा परिणत भइसकेको मुक्त कमैयाको भनाइ रहेको छ। वर्षाको बेला नदीमा बाढी आउनै लाग्दा नदी किनाराका मुक्त कमैया परिवार घर छाडेर सुरक्षित स्थानमा जाने गरेको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए।

मुक्त कमैया परिवारको वर्षात् आउनुअगावै पुनःस्थापना कार्य गरिनुपर्नेमा उनले जोड दिए। भूमिसुधार कार्यालय, कञ्चनपुरका कर्मचारी नौखरीका बाढीबाट विस्थापनमा परेका मुक्त कमैया परिवारको लगत लिने कार्य गरिसकिएकाले चाँडै पुनःस्थापनामा पर्ने बताउँछन्।

(

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x