१५ अंकले बढेको शेयर बजारमा ७ अर्बभन्दा बढीको कारोबार
काठमाडौं, २४ चैत । कारोबारको तेस्रो दिन मंगलवार शेयर बजार १५.७२ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २६७४.४६ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स समेत ४.३४ अंकले उकासिएर ४७६.१८ कायम भएको छ ।
मंगलवार २१३ कम्पनीको १ करोड ६१ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । यसबाट ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन कारोबार भएका १३ समूहमध्ये होटल्स एण्ड टुरिजम समूह सर्वाधिक बढेको । यस समूहको उपसूचक ५.६२ प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक कमाउनेमा चारवटा कम्पनी रहेका छन्, जसमा युनाइटेड इडी मर्दी आरबी हाइड्रोपावर, युनिभर्शन पावर कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी र चन्द्रागिरी हिल्स कम्पनी रहेका छन् । यी सबै कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको हो ।
मंगलवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यस्तै सानिमा जनरल इन्स्योरेन्स र अजो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि क्रमशः ८.७८ र ८.७२ प्रतिशतले घटेको छ ।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३९ करोड ८० लाखभन्दा बढी मूल्यको शेयर किनबेच भएको हो । कारोबारको आधारमा दोस्रोमा रहेको चिलिमे हाइड्रोपावरको ३१ करोड १० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदविक्री भएको छ ।
यस दिन बैंक, व्यापार, वित्त, जीवन बीमा, निजीवन बीमा र अन्य समूहको उपसूचक घटेका छन् ।