Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बाग्मती आयोजनाको २७ वर्ष : लक्ष्य अनुसार भएन काम

बाग्मती आयोजनाको २७ वर्ष : लक्ष्य अनुसार भएन काम

पूर्ण प्रसाद चौलागाँई

२०७७–१२–०२, काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले स्थापना भएको बाग्मती आयोजना २७ वर्ष पूरा भए पनि ढलमुक्त हुन सकेको छैन । २०५१ चैत २८ गते वाग्मती ढल सुधार आयोजनाका नाममा स्थापना भएकामा हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति नाम दिइएको छ । नाममा अधिकार सम्पन्न थपिए पनि काममा त्यो लागू नभएको बताइएको छ ।

देशव्यापी जागरणका रूपमा सफाइ अभियान शुरु भए पनि स्थानीय सरकारले स्वामित्व लिएर सहयोग नगर्दा आशा गरेअनुरुपको काम हुन नसकेको अभियानकर्मीको गुनासो छ । सफाइ स्थानीय सरकारको कार्य क्षेत्र भए पनि बेवास्ता गरिँदा विभिन्न रोगको महामारी फैलने गरेको छ ।

समितिको २७औं स्थापना दिवसका अवसरमा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेलले बाग्मती पहिलेभन्दा बढी फोहोर हुन थालेको बताए । सफाइ अभियानकर्मी अधिकार सम्पन्न वाग्मतीलाई सघाउन आएकाले प्रतिद्वन्द्वीका रूपमा नबझ्न पूर्वमुख्यसचिव पौडेलको आग्रह थियो ।

कार्यक्रममा समितिका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायतले नदीको सफाइमा सरोकार भएका सबै निकायले समन्वयात्मकरूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

२०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प एवं कोरोना जोखिमजस्ता प्रतिकूल परिस्थितिमा पनि निरन्तर बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ हुँदै आएको छ । महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यकाका सांस्कृतिक सम्पदा तथा चक्रपथका विभिन्न भागमा सफाइ भइरहेको छ ।

उपत्यकाका गुह्येश्वरीमाथिको बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x