Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पूँजीबजारका लागि सम्झनलायक वर्ष २०७७

पूँजीबजारका लागि सम्झनलायक वर्ष २०७७

बलराम बुढाथोकी

२०७७ सालमा नेपालको पूँजीबजारले ऐतिहासिक रेकर्ड राखेको छ । वर्षको सुरुवातमा कोरोना महामारीले गर्दा बन्दाबन्दीको मार खेप्नुपरेको बजार कारोबार खुलेको समयदेखि नै बढ्न शुरु ग¥यो । वर्ष २०७७ मा कारोबार रकमसँगै शेयर बजार इन्डेक्स पनि ऐतिहासिक विन्दुमा पुग्यो । चैत ३१ गतेसम्मको तथ्याङ्क हेर्दा कारोबार रकमले ऐतिहासिक उचाइ कायम गरेको छ । केही वर्षअघिसम्म १ अर्ब रुपैयाँको कारोबार हुन पनि मुश्किल पर्ने बजारमा २०७७ माघ २५ गते १० अर्ब ६१ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । वर्षको अन्तिम दिन ३१ गते ७ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएर बजार बन्द भएको छ ।

वर्षको अन्तिम दिनसम्म आइपुग्दा नेप्से परिसूचकले २७१४.७९ विन्दुमा रोकिएर नयाँ रेकर्ड बनाएको छ । सरकारले कारोना रोकथामका लागि भन्दै २०७६ चैत ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण २०७७ सालमा पहिलो शेयर कारोबार वैशाख ३० गते भएको थियो । उक्त दिन नेप्से परिसूचक २५ अंकले घटेर १२२६.१६ विन्दुमा रोकिएको थियो । बजार खुलेको दोस्रो दिन वैशाख ३१ गते पनि परिसूचक २४ अंक घटेर १२०१.५८ विन्दुमा रोकिएको थियो । यी दुबै दिन बजारमा नकारात्मक सर्किट लागेपछि नेपाल धितोपत्र बोर्डले बजार बन्द गरेको थियो । उक्त समयमा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २०७५ कात्तिक २० गतेदेखि सुरु गरेको आनलाइन कारोबारलाई प्राथमिकता दिई आवश्यक पूर्वाधार तयार गरी अनलाइन कारोबारलाई मजवुत बनाएको थियो । यो वर्षलाई नेपालको पूँजीबजारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रुपमा हेर्न सकिन्छ । २०७७ सालमा १२२६ विन्दुबाट सुरु भएको बजार वर्षको अन्तिमसम्म आइपुग्दा २७१४ विन्दुमा पुगेर रोकिएको छ ।

यसैगरी कोरोना महामारीले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पर्याे । तर पनि पूँजीबजारमा यही वर्ष ठूलो उपलब्धि हासिल भएको छ । वर्ष २०७७ मा बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या पनि उलेख्य मात्रामा बढेको छ । चैत ३१ गतेसम्मको सिडिएस एण्ड क्लिएरिङको तथ्यांक अनुसार नयाँ डिम्याट खाता खोल्नेको संख्या ३४ लाख २ हजारभन्दा बढी पुगेको छ । ३४ लाखभन्दा बढीले डिम्याट खाता खोलेका भए पनि सक्रिय लगानीकर्ताको संख्या १६ लाखभन्दा छ । पछिल्लो समय आईपीओ विक्री गरेको रुरु जलविद्युत् परियोजनाको आईपीओमा १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएको विक्री प्रवन्धक एनएमबि क्यापिटलको तथ्याङ्क छ । यो भन्दाअघि आईपीओ विक्री गरेको सिँगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको थियो । यसले के देखाउँछ भने सक्रिय लगानीकर्ताको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चैत ३० गतेसम्म दोस्रो बजारमा शेयर कारोबारका लागि ६ लाख ९४ हजार ४७९ जना आवद्ध भइसकेका छन् । यीमध्ये स्वदेश र विदेशबाट ५ लाख ७६ हजार ९६२ जना अनलाइन कारोबार प्रणालीसँग जोडिएका छन् । एक वर्षअघि अनलाइन कारोबार प्रणालीमा आवद्ध हुनेको संख्या ३७ हजार रहेको नेप्सेले बताएको छ । नेप्सेले अनलाइन कारोबार सुरु गरेको साल २०७५ को अन्तिमसम्ममा अनलाइन कारोबार गर्नेको संख्या १६ हजार मात्र थियो । अहिले दैनिक २ हजारभन्दा बढीले अनलाइनबाट शेयर कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिने गरेका छन् । नेप्सेका अनुसार एक महिनाअघि अनलाइन कारोबार गर्नका लागि ४ लाख ९९ हजारले युजन नेम र पासवर्ड लिएका थिए भने एक महिनाको अन्तरालमा युजरनेम र पासवर्ड लिनेको संख्या ५ लाख ७६ हजार ९६२ पुगेको छ ।

अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या वृद्धि हुनुमा युवा पुस्ता शेयर बजारमा प्रवेश गर्नुलाई महत्त्वपूर्ण रूपमा लिइएको छ । युवा पुस्ता प्रविधिमा चासो राख्ने भएकाले पनि नेप्सेको अनलाइन प्रणाली सार्थक हुँदै गएको छ । अहिले युवा मात्र नभएर पुराना पुस्ताका लगानीकर्ताले पनि अनलाइनबाटै शेयर कारोबार गर्न थालेका छन् । नेप्सेले विकास गरेको अनलाइन कारोबार प्रणाली (टिएमएस)मार्फत घरबाटै शेयर खरिद विक्री गर्न सकिन्छ । यसले गर्दा लगानीकर्ताहरु टिएमएस लिन आकर्षित भएको देखिन्छ ।
साथै यही वर्ष नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै बढी संख्यामा प्राथमिक शेयर जारी गरेको थियो, जसमा आवेदन दिएका प्रत्येक लगानीकर्ताले न्यूनतम ५० कित्ताका दरले शेयर हात पारेका थिए । उक्त बैंकको प्राथमिक शेयरले गर्दा पनि शेयर बजारको ज्ञान हुँदै नभएकाहरुले समेत शेयर बजारको बारेमा चासो बढाउँन थालेका छन्, जुन पूँजीबजारका लागि सकारात्मक पक्ष हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x