Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जायज र सम्भव हुने मागहरू मात्रै बजेटमा सम्बोधन गरिन्छ : अर्थमन्त्री पौडेल

जायज र सम्भव हुने मागहरू मात्रै बजेटमा सम्बोधन गरिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं, १३ वैशाख । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेटमा जायज मागहरूलाई सम्बोधन गरिने बताएका छन् । आइबिएन मिडिया एन्ड रिसर्चद्वारा उत्पादित कार्यक्रम ‘अर्थको अर्थ’ प्रसारण शुरू भएको २८औं वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै माग जायज नहुने र जायज मागहरू पनि सम्बोधनमा कहिलेकाहीँ समस्या हुने भन्दै यस्तो बताएका हुन् । ‘सबै क्षेत्रको सल्लाह, सुझाव र मागहरूलाई उचित सम्बोधन गर्नेगरी बजेट निर्माण गरिन्छ,’ उनले भने ।

पछिल्लो समय कोरोनाको संकट थप बढेकोमा सबैलाई सचेत हुन समेत अर्थमन्त्री पौडेलले आग्रह गरे । सरकारको सही नीति र आमनागरिकको सावधानीका कारण पहिलो चरणमा कोरोना विरुद्धको लडाइँ लड्न सफल भएको भन्दै उनले दोस्रो चरणमा पनि सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे । जनताको जीवनको रक्षा गर्दै आर्थिक सामाजिक गतिविधिलाई पुरानै लयमा फर्काउनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रण गर्दै आर्थिक पुनरुत्थानलाई बजेटले विशेष प्राथमिकता दिने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आगामी बजेटमा बैंकिङ क्षेत्रको करको दर घटाउन आग्रह गरे । अहिले ३० प्रतिशत कर लाग्ने गरेको भन्दै त्यसलाई घटाएर २५ प्रतिशतमा झार्दा राम्रो हुने उनको सुझाव छ । यस्तै डिजिटल कारोबारको प्रवद्र्धनका लागि कर छूट गर्नुपर्ने उनको तर्क छ ।

कार्यक्रममा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न सरकारले राजस्व संकलनदेखि पेन्सन वितरणसम्मका सबै सरकारी कारोबारहरुलाई डिजिटल माध्यमबाट गर्नुपर्ने बताए ।

यसैबीच, कार्यक्रममा आइबिएन मिडिया एण्ड रिसर्चद्वारा प्रकाशित विशेष स्मारिका ‘डिजिटल नेपाल’को विमोचन समेत गरिएको छ । उक्त स्मारिकामा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा बढ्दै गएको डिजिटल कारोबार, यसका समस्या, चुनौती, सुरक्षा लगायत विविध विषयमा विज्ञहरूको लेखरचना समेटिएका छन् ।

उक्त अवसरमा संस्थाले एसीसी, नबिल, हिमालयन बैंकका साथै ‘अर्थको अर्थ’को कार्यक्रम निर्माता शंकर पण्डित र सुदूरपश्चिम संवाददाता विवेक नागरीलाई समेत सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x