डिम्याट खाताको संख्या बढेसँगै ‘कोर डिपी सिस्टम’ अपग्रेड गर्दै सिडीएससी
काठमाडौं, २१ वैशाख । सिडीएस एण्ड क्लियरिङ (सिडिएससी) ले आफ्नो कोर सिस्टम अपग्रेड गर्ने भएको छ । डिम्याट खाताको संख्या दिन प्रतिदिन बढ्दै गएकोले सिडीएससीले कोर सिस्टमको सर्भर तथा स्टोरेज अपग्रेड गर्न लागेको हो ।
कम्पनीले इच्छुक तथा योग्य कम्पनीलाई जेठ २० गते दिउँसो १ बजेसम्ममा प्रस्ताव पेश गर्नको लागि आग्रण गरिसकेको छ । सोहि दिन २ बजे बोलपत्र खोलिने सिडीएसले जनाएको छ ।
सिडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सिडीएसको कोर सिस्टमको रुपमा रहेको डिपोजीटरी सिस्टमलाई अपग्रेड गर्न लागिएको हो। डिम्याट संख्या ३५ लाख नाघिसकेको र डिपी संख्या ७८ पुगेकोले त्यसको लागि सर्भर र स्टोरेज थप गरिन लागेको उनले जानकारी गराए । अब अपग्रेड गरिएको सिस्टमको क्षमता ६० लाख देखि ७० लाख डिम्याट खाताको डाटा राख्ने क्षमता हुनेछ ।
नेप्सेले मेरोशेयरमा भने सर्भर अपग्रेड गरिसकेको छ । मेरोशेयरमा अपग्रेट गरिसकेपछि अहिले कुनै किसिमको समस्या नरहेको सिडीएससीले जनाएको छ ।