सीमावर्ती आठ नाकामा आइसोलेनसहितका संरचना तयार गरिँदै
काठमाडौं, २२ वैशाख । नेपाली सेना राजधानी काठमाडौंसहित मुलुकका सीमावर्ती आठ नाका नजिक होल्डिङ र आइसोलेशन सेन्टरसहितका संरचना तयार पार्ने भएको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहलिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक अस्थायी अस्पतालका रूपमा समेत प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माण गर्न लागेको हो ।
काठमाडौंको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएको राससमा उल्लेख छ । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा उपलब्ध गराउन सकिने प्रारम्भिक अध्ययन गरिसकेको छ । पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गर्ने क्रममा सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको बताइसकेका छन् । बहुपयोगी ती भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा बजेट निकासाका लागि सेनाले पत्राचार गरिरहेको बताएको छ । ती सबै पूर्वाधार निर्माण करिब डेढ महिनाभित्रै तयार हुने अनुमान गरिएको छ ।