विश्व व्यापार संगठनको ‘मिनि—मिनिस्ट्रीयल कन्फरेन्स’ भारतमा
काठमाडौं, ६ चैत्र । विश्व व्यापार संगठनमा देखिएको गतिरोध अन्त्य गर्न भारतमा दुई दिने ‘मिनि—मिनिस्ट्रीयल कन्फरेन्स’ आज सम्पन्न हुँदैछ । यसका लागि विश्व व्यापार संगठनका ५० देशका वाणिज्यमन्त्रीहरु नयाँ दिल्लीमा भेला भएका छन् । विश्व व्यापार संगठनलाई नयाँ म्याण्डेट सहित अघि बढाउन यो सम्मेलन भइरहेको छ ।
भारतले संरक्षणवादी व्यापार नीतिको अन्त्य र स्वतन्त्र र खुला व्यापारको वकालत गर्दै आएको छ । विश्व अर्थतन्त्रमा उदाउँदो शक्ति भारतले अमेरिका, अफ्रिका, चीन लगायत देशका प्रतिनिधिहरुलाई पनि भारतमा बोलाएको छ । अमेरिकाले स्टिल र आल्मुनियममा लगाएको भन्सारका सम्बन्धमा भारत र अमेरिकाबीच दोषारोपण चलिरहेको छ । अमेरिकाले भारतले निर्यात सहुलियत दिएर सस्तोमा वस्तु अमेरिकी बजारमा बेच्ने नीति लिएको बताउँदै आएको छ ।
यो सम्मेलनले बहुपक्षीय व्यापार निकायका सम्बन्धमा रहेका नकारात्मकतालाई कम गर्ने बताइएको छ । सम्मेलनमा विश्व व्यापार संगठनका महानिर्देशक रोबर्टो अजेभेडोले विश्व व्यापार संगठन भित्र र बाहिर रहेका चुनौतीहरुका सम्बन्धमा उल्लेख गर्दै खुला र इमान्दार वार्ताका माध्यमबाट समस्या समाधान गर्न अनौपचारिक बैठक आयोजना हुनु सरहानीय रहेको उल्लेख गरे ।
यसअघि अर्जेन्टिनाको व्युनर्स आयर्समा भएको बैठकमा कुनै प्रक्रिया अघि नबढेपछि भारतले यो अग्रसरता लिएको हो ।