एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने
काठमाडौं, २७ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।
बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित अघि बढ्नु पर्ने सुझाव दिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुदाहुदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी रहँदा विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए । बैठकमा संघका उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतमा टेलिमेडिसिन संचालन भै रहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।
बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिड बिरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सकृय रहन सबै राष्ट्रिय समितिलाई आब्हान गरे ।
बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।