उद्योग वाणिज्य महासंघद्वारा कोभिड–१९ सहायता केन्द्र स्थापना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ । महासंघले मुलुकमा बढदो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले केन्द्रीय कार्यालयमा कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको हो ।
महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । उक्त केन्द्रको समन्वय भने महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने छन् । कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनको लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । जसअनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन रामचन्द्र संघई तथा शौरभ ज्योतिले गर्नेछन् ।
त्यस्तै अस्पताल तथा आईशोलेसन केन्द्र सहजीकरण हेमराज ढकाल र रविन श्रेष्ठले गर्ने भएका छन् । अस्पताल व्यवस्थापन भने ई देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमले गर्नेछन् । अस्पताल तथा आईसोलेशन केन्द्रको सहजीकरण भने रन्जितराज आचार्यले गर्नेछन् ।
औषधी तथा मेडिकल उपकरणको सहजीकरण प्रबलजंग पाण्डे र भक्त हमालले गर्नेछन् । होटल तथा हवाई यातायातको सहजीकरण ज्योत्सना श्रेष्ठ, विनायक शाह तथा विनोद सापकोटाले गर्ने छन् ।
सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले बताएको छ ।
सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्ने पनि महासंघले बताएको छ ।
मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्व लाई मनन गरी हरेक पटक सहयोग पु¥याउंदै आएको बताएको छ ।