आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्गो तथा उद्धार उडान सीमित संख्यामा
काठमाडौं, २९ वैशाख । भयावह रूपमा बढेको कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञासँगै हाल मुलुकमा आन्तरिक ता अन्तर्राष्ट्रियतर्फ नियमित उडान बन्द छ । साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।
यद्यपि अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान भने सीमित संख्यामा भइरहेको छ । निषेधाज्ञाको अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले बताएको छ ।
विमानस्थल कार्यालयका अनुसार मंगलबार अन्तरराष्ट्रियतर्फ कार्गो तीन कार्गो, दुई चार्टर्ड र एक एयर एम्बुलेन्स गरी कूल छ उडान भएका छन् । नेपाल वायुसेवा निगम (एयरलाइन्स)ले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डरसहितका सामग्री ल्याएको थियो भने हिमालय एयरलाइन्सले चीनको कुनमिङमा दुई उडानमार्फत कार्गो तथा बंगलादेशमा एक चार्टर्ड उडान गरेको छ । दुबईबाट रोयल एयर एम्बुलेन्सको नेपालमा एक उडान भएको छ ।
अन्तरराष्ट्रियतर्फ बुधवार विभिन्न एयरलाइन्सका चार कार्गो, एक ट्राभल बबल र एक ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी मंगलजार ६२ उडान भएका थिए ।
अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।