Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

कोभिडका कारण आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण

कोभिडका कारण आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण

काठमाडौं, ४ जेठ । कोरोना महामारीको दोस्रो लहरका कारण चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने देखिएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले चालू आवको ९ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएतापनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्न चुनौतीपूर्ण हुने देखिएको बताएको छ ।

चालू आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवाह संतोषजनक रहे तापनि विश्वव्यापी रुपमा कोभिड–१९ को नयाँ स्वरुपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धि कायम रहनु चुनौतिपूर्ण रहेको समेत राष्ट्र बैंकको समीक्षामा उल्लेख छ । पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको भन्दै केन्द्रीय बैंकले पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिएको औंल्याएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहे तापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपँैया अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति छ । तापनि, आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमा भित्र रहने देखिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैंकिङ क्षेत्रले व्यवस्थापन गर्न सकेकोमा कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैंकिङ क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेको बताइएको छ । पछिल्ला महिनाहरुमा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने बैंकले आकलन गरेको छ ।

‘कर्जाको ब्याजदरमा आएको कमीले गर्दा पछिल्ला महिनाहरुमा कर्जाको माग बढाउन सहयोग पुगेको छ । कर्जा माग उल्लेख्य ढंगले बढ्दा २०७७ चैत महिनापछि बैंकिङ क्षेत्रको तरलतामा कमी आई अल्पकालीन व्याजदरहरु केही बढ्न गएका छन्,’ राष्ट्र बैंकको समीक्षामा भनिएको छ, ‘यसले गर्दा आगामी दिनमा कर्जा तथा निक्षेपको व्याजदर बढ्ने संकेत देखिएतापनि हालै गरिएको बन्दाबन्दीले नयाँ कर्जाको मागमा कमी आइ बैंकिङ क्षेत्रको तरलता र ब्याजदर सामान्य रहने देखिन्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x