
काठमाडौं, ५ जेठ । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम कोभिड–१९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।
सीएसआर अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । यसबाट कोरोना पीडितको उपचारमा सहयोग पुग्ने केन्द्रीय बैंकको विश्वास छ ।
‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै भनेको छ ।
सोही बुँदमा थप स्पष्ट पार्दै अगाडि भनिएको छ, ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ ।’ राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
केही बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयमा समेत ऋणीलाई कालोसूचीमा राखेको पाइएपछि केन्द्रीय बैंकले कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञामा कोही कसैलाई पनि त्यस्तो सूचीमा नराख्न भनेको छ । कोरोनाका कारण प्रभावित ऋणीलाई राष्ट्र बैंकको यस्तो व्यवस्थाले सहुलियत प्रदान हुनेछ ।
निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्नेछन् । सो अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिनेछ ।
यसैगरी अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ऋण दिने भएको छ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा ऋण दिनुपर्नेछ ।
स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोडसम्म र अक्सिजन प्लाण्ट स्थापनाका लागि २० करोडसम्मको कर्जा लिन सक्नेछन् । त्यस्तो कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउनेछ ।
Leave a Reply