साताको अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द, कारोबार रकम भने घट्यो
काठमाडौं, ६ जेठ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.२७ अंकले वृृद्धि भएर बन्द भएको छ । परिसूचक वृद्धि भएर आज २७८७.१९ विन्दुमा बन्द भएको हो ।
२१४ कम्पनीको २ करोड १ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । हिजोको तुलनामा कारोबार रकम साढे २ अर्बभन्दा बढी कम हो ।
त्यस्तै आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक शेयर मूल्य वृद्धि गुडविल फाइनान्स र मन्जुश्री फाइनान्सको भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको शेयर मूल्य ३९६ रुपैयाँ कायम भएको छ भने मन्जुश्री माफइनान्सको शेयर मूल्य ५९४ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नै भएको छ । यो कम्पनीको ३४ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज पुनर्बीमा कम्पनीको शेयर मूल्य १ हजार ६५० रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।