Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन् २०२१ मा विश्वको अर्थतन्त्र ५.६ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

सन् २०२१ मा विश्वको अर्थतन्त्र ५.६ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २६ जेठ । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ । कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरूले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । “विश्व आर्थिक परिदृश्य” प्रतिवेदनमा यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो । कोरोनाभाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो । बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६.६ प्रतिशत रहेको थियो ।

तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाइ छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रहरूले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् । त्यहीकारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने छैन ।

विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकहरूलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकहरूमा खोप अभियान सुस्त छ ।

बैंकले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यस्तै चीनको अर्थतन्त्र सन् २०२१ मा ८.५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि हुनेछ । जापानको अर्थतन्त्र २.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x