प्रम ओलीले दिए मन्त्रिपरिषद्लाई पूर्णता, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मन्त्रिपरिषद्लाई पुनर्गठन गर्दै पूर्णता दिएका छन् । यसअघि जेठ २० गते १० मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका प्रम ओलीले आज (बिहीवार) गृहमा खगराज अधिकारी र सूचना तथा सञ्चारमा बादल पत्नी नैनकला थापासहित ८ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिएका हुन् ।
थपिएका मन्त्रीहरूमा नेकपा एमालेबाट ६ (एक राज्यमन्त्री सहित), पूर्व माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट एकजना रहेका छन् । यससँगै २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री, १८ मन्त्री र तीन राज्यमन्त्री कायम भएका छन् ।
प्रम ओलीले बिहीवार थपेका अन्य मन्त्रीहरूमा एमालेका नादरमुनि राना वनमन्त्री, एमालेबाटै गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, एमाले नेता मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी मन्त्री, एमालेकै आशा विक वनराज्यमन्त्री, पूर्व माओवादी केन्द्रका ज्वालाकुमारी साह कृषिमन्त्री, जसपा (महन्थ ठाकुर पक्ष)बाट राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।